सुरक्षाका लागि सेना परिचालन, बिहानैदेखि सडकमा गर्दै माइकिङ
आन्दोलनको मौका छोपेर लुटपाट गर्ने २६ जना सेनाको नियन्त्रणमा

वि.सं.२०८२ भदौ २५ बुधवार ०७:१७
shares

काठमाडौं । नेपाली सेनाले हिजो राति १० बजेदेखि सुरक्षा आफूले जिम्मा लिएको जनाएको छ । जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले कारबाही सुरु गरेको हो ।
काठमाडौँका विभिन्न स्थानबाट अराजक गतिविधि गरेका केही युवाहरूलाई पक्राउ गरेको छ भने देशैभरि भीड नगर्न, सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड नगर्न पनि आग्रह गरिरहेको छ ।
आज बिहानैदेखि सडकमा सेनाले जनताको जीउ धन र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि सबैलाई माइकिङ गर्दै आग्रह गरिरहेको हो ।
कसैले क्षति पुर्याइरहेको थाह पाए सेनालाई सूचना दिन पनि आग्रह नेपाली सेनाले गरिरहेको छ ।
जेनजीले पनि आन्दोलनका क्रममा केही तत्त्वहरूले लुटपाट गर्ने र सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रयास गरिरहेको भन्दै लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारेको पारिसकेको छ ।
आन्दोलनको मौका छोपेर लुटपाट गर्ने २६ जना सेनाको नियन्त्रणमा
त्यसै गरि नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाटमा संलग्न २१ जनालाई नियन्त्रणमा लिएको छ ।
भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँचजनालाई पनि सेनाले नियन्त्रणमा लिएको छ ।