नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज ११ बजे गुण्डुमा बस्दै,समसामयिक राजनीतिक विषयमा छलफल

वि.सं.२०८२ असोज २४ शुक्रवार ०९:२८
shares

भक्तपुर । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज ११ बजे गुण्डुमा बस्ने भएको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति,पार्टीका आन्तरिक विषयको व्यवस्थापन,जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेण्डा तय गर्न बैठक आयोजना गरिएको हो ।
यस अघि असोज १९ र २० गतेका लागि तय गरिएको बैठक अविरल वर्षाका कारण स्थगित भएको थियो ।
आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश,जिल्ला र प्रवासका अध्यक्षहरूसँग गर्नु भएको भर्चुअल बैठकको जानकारी,वर्तमान सरकारले लिन सक्ने कदम,निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने तयारी छ ।
पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार केन्द्रीय कमिटीको बैठकको मिति पनि केही दिन पर सरेको छ ।
बैठकको तयारी नपुगेकोले असोज २७ गते देखि गर्ने भनिएको बैठक असोज २९ देखि ३१ गतेसम्म बस्नेछ ।
केन्द्रीय कार्यालय च्यासल जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका कारण बैठक स्थल तय भइनसकेको अधिकारीले जानकारी दिए ।