बागमतीमा समस्याग्रस्त तीन सहकारीमा ११ अर्ब ३४ करोड फस्यो, फिर्ताको माग गर्दै बचतकर्ताको हारगुहार

वि.सं.२०८२ साउन २५ आइतवार १७:३५
shares

काठमाडौं । बागमती प्रदेशका तीन सहकारी संस्थामा ११ अर्ब ३४ करोड रुपैयाँ भन्दा बढी बचतकर्ताको रकम फसेको पाइएको छ । लामो समयदेखि रकम नपाएको भन्दै बचतकर्ताले रकम फिर्ताको माग गर्दै हारगुहार गरेका हुन् ।
बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन सहकारीका अनुसार सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लालीगुराँस सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा ११ अर्ब ३४ करोड २२ लाख ९९ हजार रुपैयाँ बचत फिर्ताको माग गर्दै निवेदन दिएका छन् । यी तीन वटै सहकारी समस्याग्रस्त घोषणा भएपछि यसको सम्पूर्ण कामको व्यवस्थापन समितिले गरिरहेको छ ।
सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका बचतकर्ताहरूलाई माग दाबीको लागि दुई पटक अनलाइन आवेदन खोलिएको थियो । जसमा एक हजार ५८९ जना बचतकर्ताहरूले ६ अर्ब २४ करोड ६१ लाख ८२ हजार रुपैयाँ बराबरको माग दाबी गरेका हुन् । तर, यस सहकारीबाट ५८ लाख रुपैयाँ मात्रै ऋण उठेको छ । ऋण उठ्नु पर्ने रकम भने ८ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ ।
त्यस्तै, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तीन हजार बचतकर्ताहरूले २ अर्ब ३० करोड ३३ लाख रुपैयाँभन्दा बढी रकम बचत रहेकोले फिर्ता गरिदिन माग गरेका छन् । उनीहरूले उक्त रकम फिर्ता गर्नका लागि माग गर्दै समितिमा अनलाइन आवेदन दिएका छन् ।
यस सहकारीमा पनि ५७ करोड ३९ लाख रुपैयाँ ऋण उठ्नु पर्ने सहकारीको सिस्टममा देखिएको छ । तर, ८ लाख ३२ हजार रुपैयाँ मात्रै ऋण उठाएको छ । यस सहकारीमा ५०१ जना ऋणी रहेका छन् ।
बागमती सरकारबाटै समस्याग्रस्त घोषणा भएको नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ८५९ जना ऋणी रहेका छन् । उनीहरूबाट ७६ करोड ९० लाख ३२ हजार रुपैयाँ ऋण उठ्नु पर्ने देखिन्छ ।
समस्याग्रस्त घोषणा भएको सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभको काम भने अदालतमा मुद्दा परेका कारण अगाडी बढ्न सकेको छैन । समस्याग्रस्त घोषणा भएको लामो समय बितिसक्दा समेत मुद्दाका कारण यस सहकारीका पीडित बचतकर्ताहरूलाई बचत फिर्ता दिन समस्या भइरहेको समितिले जनाएको छ ।