काठमाडौं । अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी...

पुरा पढ्नुहाेस्

एमालेभित्रको खलबली महाधिवेशनसम्मै जान्छ : घनश्याम भुसाल

689
shares

काठमाडौ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेभित्रको खलबली महाधिवेशनसम्मै जाने बताएका छन् ।

प्रवासी नेपाली एकता मञ्च जापानको टोकियोमा आइतबार भएको अधिवेशनलाई सम्बोधन गर्दै महासचिव भुसालले अहिलेका प्रमुख पार्टीको नेतृत्वलाई कुर्सीकै चिन्ता रहेको बताउँदै एमालेमा पनि विद्या भण्डारीले कुर्सी नै ताकेपछि उनको सदस्यता नवीकरण नभएको बताए ।

‘एउटा सदस्यता नवीकरण गर्‍यो । सदस्यता किन नवीकरण भयो भन्दा कुर्सी नै ताक्छिन् जस्तो लागेको थिएन रिन्यु गर्दा’, भुसालले भने, ‘अहिले कुर्सी नै ताक्छिनजस्तो भयो । त्यसले गर्दा सदस्यता गयो र राष्ट्रिय खलबली सुरु भयो ।’

उनले एमालेभित्रको यो खलबली महाधिवेशनसम्म जाने दाबी गरे ।

‘एमालेभित्रको खलबली महाधिवेशनसम्म जाँदै छ । महाधिवेशनमा के हुने हो त्यसपछि एमाले भुमरीमा फस्ने सम्भावना छ’, उनले भने, ‘मामला हो कुर्सीकाप्रति अर्काले आँखा लगाएको हुनाले ।’

उनले माओवादीमा पनि त्यस्तै समस्या रहेको बताए । उनले भने, ‘माओवादीमा जनार्दन शर्माले सुप्रिमो प्रचण्डलाई मत घटेकोमा प्रश्न गरे । सुप्रिमो प्रचण्डलाई ३१ लाख पाएका थियौँ, आज ११ लाख पायौँ भनेको मात्र हो । यो नेतृत्वको कुर्सीमोह मात्र हो ।’

उनले लोकतान्त्रिक गणतन्त्रले खोजेको अहिलेको संविधान बोक्ने राजनीति अभाव रहेको भन्दै मुलुकले उकुसमुकुस भोग्नुपरिरहेको बताए ।

‘यो उकुसमुकुसले लोकतान्त्रिक गणतन्त्र नबोक्ने वा यो व्यवस्थाले कल्पना गरेको काम गर्न नदिने प्रवृत्ति, संरचना र गल्तीहरू सकेसम्म छिटो भत्कियोस्’, उनले भने, ‘यो २०८२ मै भत्कियो भने ८४ मा राम्रो रिजल्ट दिनेछ ।’

यदि आफूहरूले अघि सारेको एजेन्डामा सबै जानसके कांग्रेस पनि बाध्य भएर आउन सक्ने बताए । ‘कांग्रेसलाई नाकमा सुतली लाएर त्यो एजेन्डामा ल्याउँछौ’, भुसालले भने, ‘त्यसपछि नयाँ भन्नेहरूले पनि एजेन्डा खोज्नेछन् र नारा तय गर्नेछन् । ’

उनले चोटपटक लागेको कम्युनिस्ट, एजेन्डाबिनाको कांग्रेस र एजेन्डाबिनाका नयाँ पार्टीले पनि ‘सुशासन र रोजगारी, समाजवादको तयारी’मा लाग्ने बताए ।