आरजु राणाले दिइन् युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट राजीनामा

वि.सं.२०८२ असोज ११ शनिवार १२:१०
shares

काठमाडौ । निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी छिन् । अभिभावकको बैठकमा कांग्रेस नेतृसमेत रहेकी राणाले राजीनामा दिएकी हुन् ।
‘विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट उहाँले राजीनामा दिनुभएको जानकारी गराइएको छ’, एक अभिभावकले भने । काठमाडौं र ललितपुरको दुवै स्कूलबाट उनले राजीनामा दिएकी हुन ।
गत २४ भदौमा जेनजी आन्दोलनमा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो । स्कुल जलेर पूर्णरुपमा नष्ट भएको छ । तर, राणा युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष मात्र थिइन् ।
भौतिक संरचना जलेर नष्ट भएकाले नयाँ ढंगले विद्यालय चलाउने योजना युलेन्सले बनाएको छ । अभिभावक स्रोतका अनुसार युलेन्सले अब अभिभावकबाटै ट्रष्टी छान्ने छ । ‘सुरुको १५ वर्ष संस्थापक ट्रष्टी, त्यसपछि अभिभावक र त्यसपछि अल्मुनाइलाई ट्रष्टीले स्कूल चलाउने रोडम्यापअनुसार काम भइरहेको बताइएको छ’, एक अभिभावकले भने ।
हाल अनलाइनबाट कक्षा संचालन भइ रहेको छ । १० देखि १२ कक्षा र आइबीको कक्षा दशैंपछि फेस टु फेस संचालन गर्ने तयारी छ । विद्यालले पूर्णरुपमा फेस रु फेस कक्षा ३-४ महिना भित्र संचालन गर्ने योजना बनाएको छ ।
पछिल्लो समयमा राजनीतिमा सक्रिय भएपछि आरजु राणाले विद्यालयबाट अलग हुने प्रस्ताव पनि गरेकी थिइन् । तर, डा. आरजु राणा देउवाको नाफा कमाउने व्यवसायका रूपमा दूष्प्रचार गरिएको निष्कर्ष युलेन्सको छ ।
‘अफवाह फैलाइयो । समाजमा विष फैलाउन कति सजिलो ! डा. देउवाले यो दुष्प्रचारको पटकपटक खण्डन पनि गर्नुभयो, तर सञ्चारजगत्, नागरिक समाज, तालुकदार निकाय, समुदाय सबैले यो अफवाहको तेज यात्रालाई देखेर पनि नदेखेझैं गरे, जसको सिकार आज युलेन्स भएको छ । जस–जसले युलेन्सविरुद्ध भ्रम, अफवाह र दुष्प्रचार फैलाए, ती सबैलाई हाम्रो चुनौती छ’, युलेन्सले विज्ञप्तिमार्फत भनेको छ ।