अस्थायी आवास निर्माणमा अनुदानसहित विपद व्यवस्थापन राष्ट्रिय परिषद्का निर्णय

वि.सं.२०८२ असोज २१ मंगलवार १५:५५
shares

काठमाडौं । सरकारले असोज १७ -१९ गतेको बाढीपहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेकाे छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९ औं बैठकले यस्तो निर्णय गरेको हो ।
विपद्मा घरबास गुमाएका परिवारहरूका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहको समन्वयमा यथाशीघ्र लाभग्राही पहिचान गरी पठाउन निर्देशन दिने निर्णय भएको परिषद्ले जनाएको छ ।
साथै लाभग्राही पहिचान भइ आए पश्चात अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले जानकारी दिए ।
बैठकले तीनै तहका सरकारहरुले प्रदान गर्ने राहतलाई समन्वय गरि दोहोरो नपर्ने गरि स्थानीय तहमार्फत प्रदान गर्ने निर्णय गरेको छ भने मृतक र बेपत्ताका परिवारलाई प्रचलित कानून बमोजिम तत्काल राहत उपलव्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेको निशुल्क उपचार गर्ने व्यवस्था स्वास्थ्य मन्त्रालयले मिलाउने निर्णय गरेको छ ।
यस्तै बैठकले विपद्पश्चात फैलन सक्ने महामारीको आंकलन गरी महामारीजन्य रोग फैलन नदिन खानेपानी मन्त्रालयले स्वच्छ खानेपानीको व्यवस्था र स्वास्थ्य मन्त्रालयले सम्भाव्य जोखिमयुक्त स्थानहरुमा जनचेतना, स्वास्थ्यशिविर, मनोसामाजिक परामर्श लगाएतका कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको प्राधिकरणका कार्यकारी प्रमुख भट्टले जानकारी दिए ।
भट्टले अविरल वर्षाका कारण बाढी पहिरोमा परेर ५२ जनाको मत्यु भएको जानकारी दिए । बाढी पहिरोमा परि ५ जना बेपत्ता भएको रहेको र घाइते ४७ जनाको सरकारले निशुल्क उपचार गरिरहेको प्राधिकरणले जनाएको छ ।