युवाहरुको युवा नेताहरूलाई आह्वान राजनीतिमा असफल पात्रलाई बिदा गरेर गरौं पार्टी पुनर्गठन

वि.सं.२०८२ असोज २१ मंगलवार १६:०५
shares

काठमाडौं । दलका संयूक्त युवाहरुले राजनीतिक दलका दोस्रो र तेस्रो तहका नेताहरूलाई पार्टी पुनर्गठनमा लाग्न आह्वान गरेका छन् ।
एमाले, माओवादी, नेकपा एसहित विभिन्न राजनीतिक दलका २८ नेताले संयुक्त वक्तव्य जारी गर्दै राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन दलहरूको पुनर्गठन आजको मुख्य शर्त भएको बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरूलाई बिदा नगरिकन दलहरूको पुनर्गठन हुनै सक्दैन । त्यसैले, आ-आफ्ना दलहरूलाई पुनर्गठन गर्ने काममा कुनै पनि ढिलाइ नगर्न सबै राजनीतिक दलका दोस्रो/तेस्रो तहका नेताहरू र ती पार्टीका जिम्मेवार सदस्यहरूलाई हामी आह्वान गर्दछौँ ।’
पार्टी र राज्य कब्जामा लिएपछि जे गरे पनि हुन्छ भन्ने राजनीतिक सम्भ्रान्तहरूलाई जेनजी आन्दोलनले घुँडा टेकाएको भन्दै लामो समयदेखि राजनीतिक पार्टीहरूको सुधारका लागि सक्रियतापूर्वक लागिरहेको उनीहरूले उल्लेख गरेका छन् ।
जेनजी आन्दोलनले नेपालीहरू राजनीति, प्रशासन र न्यायपालिका लगायत भ्रष्टाचार मुक्त, पारदर्शी र परिणाममुखी भएको देख्न चाहेको र त्यसका लागि दलहरू जिम्मेवार बन्नु पर्ने रहेको उनीहरूको भनाइ छ ।
मुख्य राजनीतिक दलका नेताहरूले अझै पनि नेतृत्व पुस्तान्तरण र हस्तान्तरण सन्देश नसुने झैँ गरेको भन्दै विज्ञप्तिमा फेरि पनि नेतृत्वमा रहन छलछाम भइरहेको बहानाबाजीले मुलुकलाई अझै ठूला दुर्घटनातर्फ धकेल्नेतर्फ सचेत गराइएको छ ।