काठमाडौ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय...

पुरा पढ्नुहाेस्

आन्दोलन र बाढी पहिरोले पुर्‍याएको क्षति पुनःनिर्माण गर्न कोशी प्रदेशले कटौती गर्‍यो २५ प्रतिशत बजेट

338
shares
khanepani bord

काठमाडौ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ।

जेनजी आन्दोलनका क्रममा आगजनीबाट प्रदेशसभा भवन, मुख्यमन्त्री कार्यालयसहित धेरै संरचनामा क्षति बेहोरेको कोशी प्रदेश सरकारले त्यसको र बाढीपहिरोबाट क्षति भएका संरचनाको पनि पुनःनिर्माणका लागि बजेट कटौती गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट कार्यान्वयनमा नल्याई पुनर्निर्माणमा लगाउने गरी रकम रोक्का गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनी र हालै आएको बाढी–पहिरोले पुगेको क्षतिको पुनर्निर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरिएको हो।

प्रदेश सरकारले क्षतिग्रस्त सरकारी कार्यालय र पूर्वाधार पुनर्निर्माणका लागि बजेट रकमान्तर गरी खर्च गर्ने तयारी अघि बढाएको छ।

कोशीले चालु आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको थियो। जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, लुटपाट र आगजनीबाट ध्वस्त बनेका सरकारी संरचनाहरु अझै पनि खरानी पन्छाएरै सीमित सेवा मात्रै प्रवाह गर्ने अवस्थामा छन्।

कोशी प्रदेशका मात्रै होइन, झापा, मोरङ, सुनसरी लगायतका जिल्लाका बहुसंख्यक कार्यालयहरू जसोतसो मात्रै सञ्चालन भइरहेका छन्। आगजनीका कारण ठूलो क्षति ब्यहोरेका कोशी प्रदेशका सअधिकांश कार्यालयहरू सीमित सेवा र अस्थायी व्यवस्थापनका भरमा चलिरहेका छन्। कोशी प्रदेशको मुख्यमन्त्री कार्यालय नै अस्थायी भवनमार्फत चलिरहेको छ।

‘आगजनीमा परेका सबै भवनको प्राविधिक जाँचको अन्तिम प्रतिवेदन आइसकेको छैन’, कोशी सरकारका प्रवक्ता भण्डारीले भने, ‘अहिले सबैजसो कार्यालयहरू अस्थायी प्रबन्धबाटै चलिरहेका छन्। फाइनल रिपोर्ट आएपछि कसरी अघि बढ्ने भन्ने तय हुनेछ।’

प्रदेश सरकारका अनुसार अहिले मुख्यमन्त्री कार्यालय पुरानो भवनको उत्तरपट्टि नयाँ बनेको भवनको हलबाट सञ्चालित छ। आगजनीबाट निवास पनि ध्वस्त भएपछि मुख्यमन्त्री हिक्मत कार्की प्रहरीको अतिथि गृहमा बसिरहेका छन्। आगजनीबाट एकातिरको भाग जलेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय आगो नलागेको भागबाट चलिरहेको छ।

आर्थिक मामिला तथा सामाजिक विकास मन्त्रालयहरूमा सीसाहरू मात्रै फुटेको र क्षति मर्मत गरी पुरानै भवनबाट सेवा सुचारू भएको मन्त्री भण्डारीले जानकारी दिए।

आगजनीबाट कृषि तथा सहकारी मन्त्रालयले सबैभन्दा ठूलो क्षति खेपेको थियो।

१० वटाभन्दा बढी गाडी र २४ वटा मोटरसाइकलमा क्षति पुगेको मन्त्रालयका सबैजसो कोठा जलेका थिए। अहिले बाँकी रहेका केही कोठाबाट काम चलिरहेको छ। सिँचाइ लगायत अन्य मन्त्रालयहरू सामान्य मर्मत र सरसफाइ गरेर पुरानै ठाउँबाट चलिरहेका छन्।

सबैभन्दा धेरै क्षति भएको प्रदेशसभा भवनमा हो।

प्रदेशसभा सचिवालय अहिले मिडिया सेन्टरको एउटा कोठाबाट काम चलिरहेको छ। प्रदेशको सबैभन्दा ठूलो जनप्रतिनिधिमूलक संस्था प्रदेशसभा भदौ २४ यता एक जना सुरक्षागार्डको सुरक्षाका भरमा चलिरहेको छ।

कोशी प्रदेशमा प्रदेश सरकार मातहत रहेका प्रदेशभरका ४२ वटा भवन तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेका छन्। जसमध्ये १८ वटा भवन पूर्ण क्षतिग्रस्त र २४ वटा भवनमा तोडफोड भई आंशिक क्षति पुगेको छ।

प्रदर्शनकारीले प्रदेश सरकारको २३७ वटा सवारी साधनमा क्षति पुर्‍याएका थिए। प्रदेश सरकार अन्तर्गतका ३९ वटा कार्यालयमध्ये १४ वटामा क्षति पुगेको छ। असोज १८ पछिको बाढीपहिरोले पनि कोशीमा ठूलो क्षति गरिरहेको छ। यसपटकको विपद्को केन्द्र बनेको इलाममा ठूलो मानवीय क्षति भएको छ।

३९ जनाले ज्यान गुमाएको इलाममा अहिले पनि मेची राजमार्ग अवरूद्ध छ। मेची राजमार्गको मुख्यखण्ड राजदुवालीमा सडक अवरुद्ध भएपछि इलाम, पाँचथर र ताप्लेजुङको झापासँग विच्छेद भएको सीधा यातायात सम्बन्ध अझै पूर्ण रूपले स्थापित हुन सकेको छैन।

राजमार्गको जटिल भू–संरचनाका कारण सडक खुलाउने प्रयास जारी रहे पनि तत्काल ठूला सवारी साधन सञ्चालन गर्न सकिने अवस्था छैन। साना सवारी साधनका लागि वैकल्पिक मार्ग भने सञ्चालनमा आएको छ।

मेची राजमार्ग अवरुद्ध भएपछि यात्रुलाई सहज बनाउने उद्देश्यले प्रशासनले साना सवारी साधनका लागि वैकल्पिक मार्ग सूचारु गरेको छ। इलाम बजारबाट फिक्कलसम्म पुग्ने गरी यो सडक खोलिएको हो। यो नयाँ विकल्पबाट इलामको यातायात सम्बन्ध सिधै गुप्तीमा फिक्कलको पक्की सडकसँग जोडिएको छ।

इलामबाट झापा पुग्न चाहने यात्रुहरूका लागि यो मार्ग प्रयोग गर्न सकिने भएको छ।

khanepani