काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

पुरा पढ्नुहाेस्

महाधिवेशन गर्ने गरी कार्यवाहक तोक्नुपर्छ, संसद पुनर्स्थापनातर्फ लाग्न हुन्न: उदय शम्शेर राणा

663
shares
khanepani bord

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले महाधिवेशन गर्ने गरी कार्यवाहकको जिम्मेवारी दिन सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन्।

उनले परिवर्तित राजनीतिक घटनाक्रम र स्वास्थ्यलाई मध्यनजर गरेर महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित कार्यवाहक तोक्न देउवालाई सुझाव दिएका छन्।

कांग्रेसभित्र नेतृत्व परिवर्तनका लागि तत्काल महाधिवेशनको माग उठिरहेका बेला देउवानिकट नेता राणाले निकासका लागि नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।

‘पार्टीलाई एक ढिक्का राख्नुपर्नेछ। नेतृत्व परिवर्तनको मुद्दा जोडतोडले उठिरहेको छ। यस्तो बेला सभापतिज्यूले कार्यवाहकको जिम्मेवारी दिनु उपयुक्त हुन्छ,’ उनले भने।

नेता राणाले संस्थापन समूहको बैठकमा पनि पार्टीलाई विभाजनको बाटोमा जान नदिन नेतृत्व लचक हुनुपर्नेमा जोड दिँदै आएका छन्।

संस्थापन समूहकै कतिपय नेताहरूले देउवाले कार्यवाहक तोक्न नहुने धारणा राख्दै आएका छन्।

कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निकटले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाइरहेका छन्।

उनीहरूका अनुसार शनिबारसम्म ५० प्रतिशत बढिले हस्ताक्षर गरिसकेका छन्।

कांग्रेस विधानमा ४० प्रतिशतले हस्ताक्षर बुझाए तीन महिनामा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।

नेता राणाले संसद पुनस्थापनातर्फ पार्टी लाग्न नहुने बताए।

‘हाम्रै पार्टीभित्र कतिपय नेताहरूले संसद पुनस्थापनाको कुरा गरिरहनुभएको छ। यो उपयुक्त कुरा होइन। सरकारले फागुनमा निर्वाचनको मिति घोषणा गरिसकेको छ। अब पार्टीले निर्वाचनलाई प्रमुख मुद्धा बनाएर अगाडि बढ्नुपर्छ। त्यसका लागि सरकारलाई पनि वातावरण बनाउन दवाव दिनुपर्छ’, उनले भने।

साथै उनले पार्टीभित्र भ्रष्टाचारविरोधी अभियान नै सञ्चालन गर्नुपर्ने बताए।

‘अहिलेको जेनजीको प्रमुख माग नै सुशासन, पारदर्शीता हो। अब कांग्रेसले यो विषयमा पनि कठोर हुन जरूरी छ। भ्रष्टाचारका विरुद्ध पार्टी लाग्नुपर्दछ। यसमा शून्य सहनशीलता अनिवार्य हुनुपर्दछ,’ उनले भने।

देशको प्रमुख राजनीतिक दलको नाताले कांग्रेसले परिवर्तित राजनीतिक अवस्थालाई आत्मसात गर्नुपर्ने उनको तर्क छ।

khanepani