एकता र बदलिँदो राजनीतिक घटनाक्रमबारे निर्णय लिन विप्लव नेतृत्वको नेकपाको विशेष बैठक

वि.सं.२०८२ असोज २७ सोमवार ०९:३३
shares

रुपन्देही । बाम एकता र बदलिँदो राजनीतिक घटनाक्रमबारे निर्णय लिन विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको विशेष बैठक आइतबारबाट सुरु भएको छ ।
नेकपासहितका माओवादी घटक र अन्य बाम घटकसँग नेकपा माओवादी केन्द्रले एकता गर्ने निर्णय गरेसँगै नेकपाले आफ्नो विशेष बैठक बोलाएकाले अहिले चासोका साथ हेरिएको हो ।
बाम घटकसँग एकताका विषयमा योजना बनाउन र विकसित राजनीतिक घटनाक्रमका विषयमा धारणा बनाउन पार्टीले विशेष बैठक आह्वान गरेको स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख अनिल विरहीले बताए ।
आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय रहेको कपिलवस्तुको शिवगढीमा सुरु भएको बैठकमा सुरुमै महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रस्तावसहितको धारणा राखेका छन् । आइतबार महासचिवले राखेको धारणाहरू सबै केन्द्रीय सदस्यहरूले अध्ययन गरेपछि सोमबारबाट उनीहरूले बोल्ने क्रम सुरु हुने भएको छ । बैठक २७ गतेसम्म जारी रहने नेता विरहीले जनाए ।
विप्लवले विशिष्ट परिस्थितिमा विशेष कार्यभार शीर्षकको प्रस्तावलाई ६ पेजमा व्याख्या गरी बैठकमा पेश गरेका छन् । यसभित्रै जेनजी विद्रोह, अबको राजनीतिक अवस्थामा आफ्नो धारणा कसरी बनाउने, निकासको आधार के हुनसक्छ, र एकताको विषय कसरी टुंगो लगाउने भन्ने विषय महासचिव विप्लवले राखेका छन् ।
उनले पेश गरेको प्रस्तावमा सदस्यहरूले धारणा राखेपछि पार्टीको संस्थागत धारणा आउने नेता बिरहीले जनाए । माओवादी घटकसहित विचार मिल्ने बाम घटकसँग एकता गर्ने एक वर्षअघि नै निर्णय गरिएपनि अहिले विशेष परिस्थितिमा थप छलफल गरेर निर्णय लिनका लागि अहिले पुनः एजेण्डामै राखिएको नेताहरुको भनाइ छ ।