उच्च सुरक्षा जोखिम भएको समयमा नेताहरूको सुरक्षा फिर्ता गरियो: प्रदीप ज्ञवाली

वि.सं.२०८२ असोज २७ सोमवार ०९:५८
shares

काठमाडौ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले उच्च सुरक्षा जोखिम भएकै बेला सरकारले दलका नेताहरुको सुरक्षा फिर्ता गरेको बताएका छन्।
सोमबार बसेको एमाले सचिवालय बैठकको निर्णय सुनाउने क्रममा उपमहासचिव ज्ञवालीले प्रहरीको हतियार लुटिएकोदेखि जेलबाट कैदी भागेर जोखिम पैदा भएको स्थितिमा सरकारले नेताहरूको सुरक्षा फिर्ता गरेको बताएका हुन्।
‘जतिबेला सुरक्षाको उच्च जोखिम छ त्यति नै बेला नेताहरुका सुरक्षा प्रबन्ध फिर्ता गरिएका छन्,’ उनले भने।
हतियार लुट्ने, प्रहरी चौकी ध्वस्त बनाउनेहरूलाई सप्रमाण गिरफ्तार गरेर ल्याउँदा गृहमन्त्रीकै दबाबमा उनीहरुलाई रिहा गरिएको पनि उपमहासचिव ज्ञवालीले बताए।
‘झन्डै १२४७ हतियार र ९८ हजार राउन्ड गोली लुटिएको सुरक्षा निकायबाटै जानकारी गराइएको छ। त्यसले झन्डै ५ हजार जेलबाट भागेका कैदिहरू अजै बाहिरै छन्। त्यसले असाध्यै ठूलो जोखिम पैदा भएको छ,’ उनले भने।
जोखिमलाई न्यून गर्दै प्रहरीको मनोबल उच्च बनाउने, छिटोभन्दा छिटो चौकी पुनस्थापित गर्ने, सुरक्षाकर्मीलाई पोशाकदेखि लिएर यावत कुराहरूबाट सज्जित गरेर सुरक्षाको प्रबन्धलाई दह्रो गराउने भन्दा पनि सरकार उनीहरूको मनोबल खस्काउन उद्वत रहेको उपमहासचिव ज्ञवालीले बताए।
‘दुःख गरेर नियन्त्रणमा लिइएका अपराधीहरूलाई छुटाउन सरकार स्वंयले दबाब दिइरहेको अवस्था छ,’ उनले भने।
सरकार चुनाव गराउन भन्दा पनि निषेध र मुठभेडतर्फ उन्मुख भएको पनि उनले बताए।
‘नेताहरूलाई स्थान तोक्ने, उहाँहरुको राहदानी रोक्का गर्ने र सरकारको आडमा बसेर हिंसात्मक धम्की दिने, नेताहरूलाई, राजनीतिक पार्टीलाई मुद्दा लगाइ लगाइ कसैलाई पनि चुनावमा उठ्न नसक्ने परिस्थिति बनाउँछौं भन्नेलाई उल्टै सरकारले संरक्षण गरिरहेका समग्र घटनाहरूको अध्ययनबाट के निष्कर्षमा पुगेका छौं भने सरकार चुनाव गराउने बाटोमा छैन। चुनाव गराउने विश्वसनीय आधार देखा परेको छैन,’ उनले भने।
राष्ट्रपतिले बोलाएको बेला छलफल गर्न हुँदा प्रधानमन्त्री आफैले दलहरूसँग छलफल नगरेको विषयमा पनि ज्ञवालीले प्रश्न गरे।
‘राष्ट्रपतिज्यूले बोलाउनुभएको छलफललाई सरकारले गरेको संवाद भन्दैनौं। राष्ट्रको अभिभावकको हैसियतले राष्ट्रपतिले गर्नुभयो। राम्रो गर्नु भयो। त्यहाँ चाहिँ कुराकानी गर्न हुने, प्रधानमन्त्रीले दलहरूलाई बोलाउन के अप्ठ्यारो भएको हो?,’ उनले भने।
दलहरूका नेताहरूको सन्चो बिसन्चोबारे प्रधानमन्त्रीले चासो नलिएको विषयमा पनि ज्ञवालीले आश्चर्य जनाए।
‘दलहरूका नेताहरूको सन्चो बिसन्चोबारे सोध्न उहाँलाई अफ्ठ्यारो भएको म नेपाली समाज यति साह्रो अमानवीय हो र ? एउटा पार्टीको सभापति खुकुरी खाएर १४ वटा टाँकासहित बस्नुभएको छ। तपाईं सञ्चै हुनुहुन्छ भनेर सोध्न पनि नसकिने?,’ उनले भने, ‘एउटा अफ्ठ्यारो स्थितिबाट अर्को ठाउँमा आउनुभएको छ। तपाईंहरू कसरी बसिरहनु भएको छ दलहरसँग कुरा गर्यो भने जेनजी अगुवाहरूले धम्काउँछन् भन्दै दलहरूबाट पन्छिन मिल्छ?’
प्रधानमन्त्रीको यस्तो व्यवहार मुलुक चलाउने, निर्वाचन गराउने, विभाजित हुन खोजेको अहिलेको स्थितिलाई एकताबद्ध गर्दै राष्ट्रिय एकता कायम गर्ने बाटो हुन नसक्ने ज्ञवालीको भनाइ छ।