स्वास्थ्य सेवा विभागले प्रमुख पाँच अस्पतालमा ‘थ्रिडी म्यामोग्राफी’ मेसिन वितरण

वि.सं.२०८२ असोज २७ सोमवार ११:५६
shares

काठमाडौं । स्वास्थ्य सेवा विभागले प्रमुख पाँच अस्पतालमा ‘थ्रिडी म्यामोग्राफी’ मेसिन वितरण गरेको छ । विभागले स्तन क्यान्सरको प्रारम्भिक पहिचानका लागि अत्याधुनिक प्रविधि मानिने ‘थ्रिडी म्यामोग्राफी’ मेसिन वितरण गरेको हो ।
विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा पाँच थान थ्रिडी म्यामोग्राफी मेसिन खरिद गरी देशका प्रमुख पाँच अस्पतालहरूमा पुर्याएको छ । जसमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, निजामती कर्मचारी अस्पताल काठमाडौं, नारायणी अस्पताल वीरगन्ज र लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रहेका छन् ।
यी अस्पतालहरूले मेसिन जडान गरेर सेवा समेत सञ्चालन गरिसकेका छन् । काठमाडौं उपत्यकाबाहिर ‘थ्री डी म्यामोग्राफी’ मेसिन नहुँदा सेवाग्राहीले यस्तो सेवा लिनबाट वञ्चित हुने परेको थियो । अब भने काठमाडौं उपत्यकाबाहिरका महिलाहरूलाई स्तन क्यान्सरबारे पहिचानगरी उपचार गर्न सहज भएको विभागले जनाएको छ ।