झलनाथ-वामदेव भेटको साइड इफेक्ट : राति ९ बजे बैठक सरेको सूचना, मिति सारेपछि असन्तुष्टि बढ्यो

वि.सं.२०८२ साउन २५ आइतवार ०९:१२
shares

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसका केन्द्रीय पदाधिकारी र सदस्यका मोबाइलमा शनिवार राति ९ बजे एउटा ह्वाट्सएप म्यासेज बज्यो । त्यसमा पूर्वनिर्धारित केन्द्रीय कमिटी, स्थायी र पोलिटब्युरो बैठक २० दिनपछि बस्ने संशोधित सूचना थियो ।
पार्टी विभाजनको औचित्य पुष्टि नभएको अभिव्यक्तिपछि चर्चामा आएका सम्मानित नेता झलनाथ खनाललाई भेट्न तेस्रो वरियताका नेता वामदेव गौतम शनिवार खनाल निवास डल्लु पुगेका थिए ।
उक्त भेटले आफूमाथि घेराबन्दी भएको महसुस गरेपछि अध्यक्ष नेपालले दिउँसै महासचिव घनश्याम भुसाललाई बैठक रद्द गर्न भनेका थिए । तर, उनले राति मिति संशोधन भएको सूचना उक्त पार्टीका केन्द्रीय नेतालाई समेटिएको ह्वाट्सएप ग्रुपमा पठाए ।
त्यसमा केन्द्रीय सदस्य अम्बिका राईले प्रतिक्रिया दिइन्, ‘यो कस्तो खेलाँची हो, बिहान ७-८ गते भन्ने, बेलुकी २७-२८ ।’
पोलिटब्युरो सदस्य केशव विष्टले लेखे, ‘अपरिपक्वता देखिन्छ चाडपर्व परे नपरेको त हिजोको सूचना निकाल्दै हेर्नुपर्छ ।’
झलनाथका स्वकीय सचिव कृष्ण भट्टराई लेख्छन्, ‘अपरिपक्व निर्णय।’
स्थायी कमिटी सदस्य परमानन्द भट्टले शीर्ष नेता नमिलेसम्म बैठक राख्न नहुने धारणा ग्रुपमा व्यक्त गरेका छन् ।