सरकार मुठभेडको वातावरण बनाउनेतर्फ अग्रसर देखियो: नेता सापकोटा

वि.सं.२०८२ असोज २३ बिहीवार १२:०३
shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता माधव सापकोटाले तोकिएकै समयमा सरकारले निर्वाचन गराउनेमा शङ्का व्यक्त गरेका छन् । उनले सरकारले निर्वाचनको लागि वातावरण नबनाएको बताए । सरकारले राजनीतिक दलहरूसँग संवाद गरेर निर्वाचनको वातावरण बनाउनुपर्ने उनको भनाई छ ।
तर हालसम्म सरकारले राजनीतिक दलहरूसँग औपचारिक तथा अनौपचारिक कुनै प्रकारका संवाद नगरेको उनले जानकारी दिए । दलहरूले निर्वाचनलाई स्वीकार गरेर निर्वाचनमा जाने वातावरण नबनेसम्म सरकारको प्राविधिक तयारीले मात्रै निर्वाचनको माहौल नबन्ने उनले बताए ।
लोकतन्त्रको हिस्सेदार राजनीतिक दल नै भएकोले सरकारले राजनीतिक दललाई बाहिर राखेर निर्वाचन गर्न नसक्ने उनको भनाई छ । कुन दललाई कुन स्थानमा पुर्याउने भन्ने तय निर्वाचनमार्फत जनताले गर्ने उनले बताए । दलहरूमार्फत नै जनताले आफ्ना अभिमत र प्रतिनिधि छान्ने प्रक्रिया रहेकाले दलहरूसँग छलफल गरेर निर्वाचनको वातावरण बनाउन उनले सरकारलाई आग्रह गरे । सरकारले दलहरूसँग संवाद समेत नगरी निर्वाचनको मिति घोषणा भएकोले यही परिस्थितिमा निर्वाचन हुनेमा प्रश्न उठेको उनको भनाई छ ।
उनले वर्तमान सरकारको मुख्य म्याण्डेड नै निर्वाचन भएकोले निर्वाचन गराउन लाग्नुपर्नेमा जोड दिए ।
नेता सापकोटाले राजनीतिक दलहरूले पनि जेन जीहरुसँग संवाद गर्नुपर्ने बताए । उनले वास्तविक जेनजीहरुको पहिचान गरेर संवाद गर्न ढिला भइसकेको बताए । जेनजीहरुले उठाएका जायज मागहरु सम्बोधन गर्न राजनीतिक दलहरु तयार हुनुपर्नेमा उनले जोड दिए ।
जेनजीको एजेण्डाहरु हाईज्याक हुने खतरा बढ्दै गएको बताउँदै उनले राजनीतिक दलहरूले जेन जीहरुसँग औपचारिक, अनौपचारिक सम्बाद अगाडी बढाउन आग्रह गरे । उनले जेन जीहरुसँग सबै राजनीतिक दलका युवा प्रतिनिधिहरूले सर्वपक्षीय राजनीतिक सम्मेलन नै आयोजना गर्न पनि प्रस्ताव राखे ।
जेनजीहरुले उठाएका जायज मागलाई कसरी एड्रेस गरेर जान सकिन्छ ? निर्वाचनमा जाँदा समान मुद्दाहरू के हुन सक्दछन् ? संविधानको संशोधन गर्ने विषयहरू के हुन सक्छन् ? हाल भएको विध्वंसको पुनःनिर्माणको मार्गचित्र के हुन सक्दछ ? समृद्धिका मुद्दाहरू के हुन सक्दछन् ? हामी सुशासनको सुनिश्चितता कसरी गछौँ ? लगायतका विषयमा जेनजीका प्रतिनिधिहरू र राजनीतिक दलका नयाँ पुस्ताका प्रतिनिधिहरुसहितको एउटा वृहत भेला गर्न जरुरी रहेको उनले बताए ।
उनले राजनीतिक दलका युवा पुस्ता र जेन जीका प्रतिनिधिहरुबीच गोलमेच सम्मेलन गरेर एउटा राष्ट्रिय सङ्कल्प गरिएमा हाल जेनजीका एजेन्डालाई हाईज्याक गर्ने, अराजकतातिर लैजाने, प्रतिशोध साँध्ने र सिंगो राष्ट्रलाई नै अराजकताको दिशातिर लैजाने प्रवृत्तिको अन्त्य गर्न सकिने बताए ।
सरकार प्रतिशोधको भावनाबाट ग्रसित भएर समाजमा मुठभेडको अवस्था सिर्जना गर्न अग्रसर भएको नेता सापकोटाको आरोप छ । उनले कोही कसैको लहडमा राज्य लाग्न नहुनेमा जोड दिए । पछिल्ला दिनका निश्चित केही घटनाक्रमहरूलाई हेर्ने हो भने सरकारले दिएको सङ्केत सहज नभएको उनको भनाई छ । जेनजी आन्दोलनको अगुवाको नाममा हामी नेपाल नामक एनजिओका संस्थापक सुदन गुरुङका गतिविधिप्रति लक्षित गर्दै उनले विधि भन्दा माथि कोही व्यक्ति हुन नसक्ने बताए ।