अब आफ्नो जग्गाको श्रेष्ता कायम गर्न कागजातसहित आफैं आउनुपर्छः कलंकीका प्रमुख मालपोत अधिकृत

वि.सं.२०८२ असोज २३ बिहीवार १९:४२
shares

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभरका मालपोत कार्यालयका महत्वपूर्ण अभिलेख जलेका छन् । कलंकी मालपोतले अभिलेखहरु जलेको भन्दै आफ्नो जग्गाको श्रेस्ता कायम गर्न विभिन्न १० प्रकारको कागजपत्र माग गर्यो थियो । आफ्नो जग्गा दाबी गर्न जग्गा धनी आफैं आउनु पर्ने भनेर उसले सूचना निकालेको छ ।
विदेशमा भएका नेपालीले समेत आफ्नो नाममा भएको जग्गाको श्रेस्ता कायम गर्न आफैं आउनु पर्ने हो ? भनेर धेरैले जिज्ञासा राखेका छन् । सबै अभिलेख जलेका बेला मृत्यु भएका मान्छेको जग्गाको पुर्जा कसरी बन्छ भन्ने प्रश्न पनि छ । मालपोत कार्यालय कलङ्कीका प्रमुख मालपोत अधिकृत रविन ढकालसँग गरेको कुराकानीको सम्पादित अंशः
–कलंकीको मालपोत कार्यालय जलेर ध्वस्त भयो । अभिलेखहरु सबै जलेका छन् । अब जग्गाधनीले यो मालपोतमा पर्ने आफ्नो स्वामित्व रहेको जग्गा कसरी प्रमाणित गर्न सक्छन् ?
आफ्नो जग्गाको श्रेस्ता कायम गर्न हामीले सूचना निकालेका छौं । सूचना व्यावहारिक नै छ । हामीले यो प्रक्रिया आफैँले निर्धारण गरेको होइन । भूमि प्रशासन निर्देशिकाको दफा २१ अनुसार नै सूचना प्रकाशन गरेका हौँ । हामीले त्यो पत्रमा खुलाएका छौँ । अब त्यही बमोजिम हुन्छ ।
– मालपोतले १० प्रकारका कागज उपलब्ध गराउनुपर्ने भनेको छ । भनेछि अब सबैले सबै प्रक्रिया पुरा गर्नुपर्छ ?
सूचनामा आएका सबै प्रक्रिया पूरा गर्ने भन्ने होइन । नागरिकता छ, वडाको सिफारिस र व्यक्तिसँग स्वयम्, पुर्जा नक्सा र जग्गाको कर तिरेको रसिदमध्ये आफूसँग भएको प्रमाण ल्याउँदा हुन्छ । जग्गाधनीले ल्याएको प्रमाण हाम्रो अनलाइनमा मिल्यो भने जग्गा प्रमाणित हुन्छ ।
यी सबै जग्गाधनीले राख्नुपर्ने नै बेसिक डकुमेन्टहरू हुन् । सबै प्रमाण पुग्यो भने हामी एक घण्टामा श्रेस्ता कायम गर्दिहाल्छौँ । श्रेस्ता कायम भनेको हाम्रो जलेर नष्ट भएको अभिलेखको सट्टामा कायम हुने हो । यी सबै प्रमाण पुगेर हाम्रो अनलाइन रेकर्डमा पनि भिडेको हिसाबले जग्गा कायम हुन्छ ।
– जग्गाधनी आफैं उपस्थित हुनुपर्छ भनिएको छ । विदेशमा भएका जग्गा धनी र मृत्यु भइसकेका जग्गाधनीको हकमा के हुन्छ ?
यो निरन्तरको प्रक्रिया हो । हामीले श्रेस्ता कायम गर्ने सूचनामा मिति तोकेका छैनौं । कार्यालय पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही समय लाग्छ । आंशिक कार्यालय सञ्चालन गर्ने तयारी रहेको छ । कार्यालय पूर्ण रूपमा सञ्चालनमा आइसकेपछि हामी श्रेस्ता कायमको पनि सँगसँगै सूचना जारी गर्छौँ । विदेशमा भएकाहरु फर्केर आएर जग्गा किनबेच गर्दा पनि श्रेस्ता कायम गरे हुन्छ । यो आफ्नो सुविधाको आधारमा गर्न पाइन्छ । निरन्तरको प्रक्रिया हो, श्रेस्ता कायम गर्न हद म्याद हुँदैन ।
– वैदेशिक रोजगारीमा गएका वा विदेशमा भएकाले आफ्नो परिवारलाई अख्तियारी दिएर जग्गाको श्रेस्ता कायम गर्न सक्छन् ?
हुँदैन । त्यो जग्गाको श्रेस्ता कायम गर्दा जोखिम रहन्छ । हामीले अधिकृत वारिसको आधारमा जग्गाको श्रेस्ता कायम गर्ने अभ्यास गर्या छैनौँ । अब विभागले नयाँ निर्देशिका जारी गर्ने पनि भन्या छ । त्यो निर्देशिकाले केही भन्यो भन्ने अन्यथा बाहेक व्यक्ति स्वयम उपस्थितै हुनुपर्छ ।
– जग्गाधनीकै मृत्यु भएको हकमा के हुन्छ ?
मृत्यु भएको हकमा नामसारीको प्रक्रियामा जानु पर्छ । नामसारीको प्रक्रियामा गइसकेपछि जसको नाममा नामसारी गर्ने हो, उहाँहरुकै नाममा श्रेस्ता कायम हुन्छ । मृतकको नाममा पुर्जा जारी हुँदैन । जसको नाममा नामसारी हुने हो, उहाँको नाममा नयाँ पुर्जा बनेर जान्छ ।
यी प्रक्रियाले जग्गाधनीलाई आर्थिक भार पार्छ कि पार्दैन ? यो प्रक्रिया अलि झन्झटिलो भएन ?
यो सबैलाई अनिवार्य होइन । यो प्रक्रिया जग्गाधनी पुर्जा नै हराएको हकमा हो । हाम्रो अभिलेखसँग पनि लिखत भिडेन वा उहाँहरूसँग लिखतै छैन भने हो । जग्गाको नक्सा नापीमा जाँदा किताब नम्बर अनुसारको नक्सा देखिएन अथवा काट भएर अन्तै गइसक्या भए यी सबै कागत चाहिने हो । जग्गाधनीको पुर्जा र नागरिकताको नाम नै फरक परेमा मागेका कागज चाहिने हो । शङ्कास्पद परिस्थिति आइलागे वा सबै प्रमाणहरुले यथेष्ट रुपमा विश्वास गर्न सकिने ठाउँ नभएमा सूचनामा भने अनुसारको सबै प्रक्रिया पुरा गर्नु पर्ने हो ।
जग्गाधनीको बायोमेट्रिक सत्यताको अनलाइन इन्ट्री हुन्छ । जग्गाधनी पुर्जा तथा अन्य प्रमाण पुगेका हकमा जग्गाधनीले त्यो प्रक्रियामा जान पर्दैन । शङ्का, उजुर–बजुर, वा निवेदन आएको हकमा मात्र रोकिने हो ।
– गुठी जग्गाको हकमा गुठी संस्थानको सहमतिपत्र अनिवार्य भनिएको छ । यसलाई कसरी सहजीकरण गरिन्छ ?
अन्यत्र मालपोत कार्यालयमा पनि त्यही किसिमको सूचना जारी भएको छ । गुठीको जग्गाको कारोबार गर्दा सहमति माग्ने नै अभ्यास छ । गुठी संस्थानमा पनि रेकर्ड हुन्छ । त्यसले झन् भेरिफाइड हुन्छ जस्तो लाग्छ ।
– कार्यालय पुनर्स्थापना र सम्पूर्ण अभिलेखको डिजिटल ब्याकअपका लागि के कस्ता योजनाहरू बनाउनु भएको छ ?
हामी अल्पकालीन रुपमा अब सुरुमा आकस्मिक सेवा सञ्चालन गर्ने तयारीमा छौँ । इन्जिनियरिङ टोलीले भवनको तलको दुई तल्ला चलाउन मिल्दैन भनेका छन् । माथिको तीन तलामा सेवाग्राहीको चाप एकदम कम गरेर मात्र चलाउनू भनेर स्टिकर राख्दिनुभएको छ ।
अहिले द्रूत गतिमा शाखाहरू पुनर्निर्माण गर्ने, कम्प्युटरहरू राख्ने, वायरिङहरू गराउने काम भइरहेको छ । बजेटको व्यवस्थापन र आश्वासनको आधारमा काम गर्दै छौँ । तिहार अगाडि कार्यालय सञ्चालन हुन्छ । हामी रोक्काको मात्रै आकस्मिक सेवा सुरु गरेर अनलाइन रेडी गरिसकेपछि पूर्ण रूपमा सञ्चालन गर्न सक्छौँ ।
२०७७ भन्दा अगाडिको अभिलेख सबै डिजिटल्ली छ । २०७७ यताको रेकर्ड पहिल्यै अनलाइनमा छँदै छ । २०७७ भन्दा अघिको हकमा अनलाइनबाटै श्रेस्ता कायम हुन्छ । बायोमेट्रिक भएर ल्याव फोटोसहित बस्छ । अब हाम्रो रेकर्ड पनि अनलाइन प्रणालीको, लेटेस्ट हुने भयो । पहिला हातले लेखेको, नबुझिने, फोटो नबुझिने समस्या थियो । अब रेकर्ड सबै अनलाइन हुने हुँदा कार्यालयले शून्यबाट अनलाइन डाटाको कार्यालय पनि बन्छ ।
– कति समयमा अभिलेख पुनस्र्थापना गरिसकिन्छ होला ?
यो निरन्तरको प्रक्रिया हो । जग्गाधनीहरु देश र विदेश कता–कता हुनुहुन्छ । सेवाग्राहीलाई मालपोत कार्यालयमा श्रेस्ता कायम गर्नै आउनलाई अतिरिक्त चाप पनि दिनु भएन । उहाँहरूले अब सेवा लिन आउँदा श्रेस्ता कायम गरिहाल्न पर्छ । अब नियमित काममा एक घण्टा टाइम बढी थपिने भयो । दुई चारवटा कागजात बढी थपिने हो । दुई तीन वर्षमा सबै अभिलेख कायम भइसक्छन् ।
– जग्गा दाबी गर्दा कुनै बिचौलिया वा नक्कली मान्छेले चलखेल गर्न सक्ने सम्भावनालाई कसरी नियन्त्रण गरिन्छ ?
श्रेस्ता कायम गर्न आउने निर्देशिकाको व्यवस्था त्यो कुरा रहेको छ । वडाको सिफारिस, नागरिकता, सक्कल पुर्जा, नक्सा हाम्रो अनलाइन रेकर्ड पनि छ । हाम्रो सिस्टममा सबै डकुमेन्टहरू पहिला स्क्यान छ । त्यो स्क्यान गरेको सिस्टमबाट पनि हामी एकचोटी भेरिफाई गर्छौँ । भेरिफिकेसन गर्दा सम्भवतः नक्कली जग्गा धनी काम नहोला । तर सङ्गठित अपराध गर्ने मनसायले सबै सरकारी कागज कृर्ते गरेर ल्यायो भने अझै जोखिम छ ।
– बैंक तथा सहकारीमा जग्गा राखेर आफ्नो लालपुर्जा राखेकाहरुले कसरी त्यो प्रक्रियाका लागि आउने ?
जग्गा बैंक वा सहकारीमा राखेका जग्गा धनीले बैंकसँग सहमति गर्ने तथा बैंकको रोक्का राख्ने निकायको सहमति पत्र पनि ल्याउनु पर्यो । लालपुर्जा पनि ल्याउनु पर्यो ।
– कलंकी मालपोतमा कति जग्गा धनी छन् । कति जति श्रेस्ता कायम गर्नुपर्ने छ ?
करिब दुई लाखभन्दा बढी श्रेस्ता छन् । कित्ता त्यो भन्दा धेरै बढी छ । ठ्याक्कै यकिन गरेर भन्न सकिँदैन तर अढाई लाख हाराहारी छन् जग्गा धनी छन् ।