नयाँ मन्त्रीमा कसैको पनि टुंगो नलागेको प्रधानमन्त्रीको प्रष्टोक्ति, जेनजीसँग भोलि पनि छलफल

वि.सं.२०८२ असोज २६ आइतवार १६:०६
shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद्मा चारजना ‘जेनजी मन्त्री’ थप्न लागेको भन्ने खबर आधिकारिक नभएको पाइएको छ । कार्की स्वयम्ले यसलाई खण्डन गरेकी छन् ।
जेनजीका तर्फबाट गणपति लाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोमलाई नियुक्त गर्न लागिएको समाचार शुक्रबार केही मिडियामा आएका थिए । यो विषयमा हिजो राष्ट्रपति कार्यालयमा जेनजी युवाहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रश्न गरे ।
आफूहरुसँग छलफलबिनै ‘जेनजी मन्त्री’ नियुक्त गर्न लागिएकोप्रति उनीहरुले असन्तुष्टि जनाएका थिए । तर, प्रधानमन्त्री कार्की कुनै पनि नयाँ मन्त्रीको टुंगो नलागेको बताइन् ।
कार्कीलाई उद्दृत गर्दै स्रोतले भन्यो, ‘अहिलेसम्म कुनै पनि आधिकारिक निर्णय भएको छैन । म तपाईंहरुसँग सल्लाह गरेर नै टुंग्याउँछु ।’
प्रधानमन्त्रीले कार्कीसँग नयाँ मन्त्रीहरुका लागि सिफारिस मागेकी छन् ।
जेनजी समूहकै व्यक्ति वा उनीहरुको सिफारिसका केही मन्त्री बनाउने उनको तयारी छ । जेनजी आन्दोलनका घाइते वा मृतक परिवारका सदस्यलाई मन्त्रिपरिषद्मा समेट्न पनि आफू खुल्ला रहेको कार्कीले बताएकी छन् ।
सरकार र जेनजी अगूवाहरुबीच भोलि पनि राष्ट्रपति कार्यालयमा वार्ता हुने तयारी छ । हिजो हुने भनिएको वार्तामा स्वास्थ्यका कारण राष्ट्रपति रामचन्द्र पौडेल बस्न सकेनन् । अचानक अस्वस्थ भएपछि उनी वार्तामा नबसिकन अस्पताल भर्ना हुन पुगेका थिए ।
उनी आज अस्पतालबाट डिस्चार्ज भएका छन् । सम्भवत भोलि राष्ट्रपतिसहितको वार्ता हुने छ । उक्त वार्तामा जेनजीका तर्फबाट प्रस्तावित नामहरुमाथि छलफल हुन सक्ने प्रधानमन्त्रीनिकट स्रोतले बतायो ।
कार्की नेतृत्वको मन्त्रिपरिषद् अहिले आठ सदस्यीय छ । परराष्ट्र, स्वास्थ्य, खेलकुद, पर्यटनजस्ता मन्त्रालयहरु खाली नै छन् ।