गृहमन्त्रीले भने, ‘आपराधिक मानसिकताका मानिसहरूले जेनजी प्रदर्शन हिंसात्मक बनाए’

वि.सं.२०८२ असोज ३१ शुक्रवार १२:५४
shares

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी प्रदर्शनमा आपराधिक मानसिकताका मानिसहरूले महत्त्वपूर्ण प्रतिष्ठान र निजी सम्पत्ति तोडफोड गरेको बताएका छन् ।
७० औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा मन्त्री अर्यालले भने– ‘आपराधिक मानसिकताका मानिसहरूले महत्त्वपूर्ण प्रतिष्ठान र निजी सम्पत्ति तोडफोड गरेर आन्दोलन हिंसात्मक बनाए ।’
जेनजी प्रदर्शन अपेक्षा गरिएकाभन्दा फरक बन्न पुगेको मन्त्री अर्यालको भनाइ छ । अभावमा रहेको प्रहरीलाई जेनजी प्रदर्शनमा भएको आक्रमणले थप प्रभाव पारेको अर्यालले बताए । उनले भने, ‘प्रहरीलाई साधन स्रोत उपलब्ध गराउन गृह मन्त्रालयले गम्भीरताको साथ प्रयास गर्नेछ ।’
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा ३ जना प्रहरी कर्मचारीले ज्यान गुमाएका छन् । प्रदर्शनमा मृत्यु भएका असई मिलन राय र सहायक हवलदार अमृत गुरुङ सहितका परिवारलाई गृहमन्त्रीले सम्मान गरेका छन् ।
पछिल्लो केही दिनयता धार्मिक र साम्प्रदायिक विरोधले भाइचारामा खलल पार्ने दुष्प्रयास भइरहेको अर्यालले बताए । उनले भने– ‘साम्प्रदायिक विषयलाई समयमै इन्टरभेन गर्न म निर्देशन दिन चाहन्छु ।’