कोशी व्यारेजमा हेभी गाडी चलाउन निषेध, विहारका बस्तीमा पस्यो बाढी

वि.सं.२०८२ असोज १९ आइतवार १८:०७
shares

काठमाडौं । सप्तकोशी नदीमा पानीको सतहले खतराको रेखा पार गरेपछि ५६ मध्ये सम्पूर्ण ढोका खुला गरिएको छ । त्यहाँबाट अत्यधिक भारयुक्त (हेभी) सवारी साधनलाई आवतजावतमा रोक लगाइएको सुनसरी प्रहरी प्रमुख एसपी केशवकुमार थेवेले बताएका छन् ।
तर, साना र मझौला सवारी साधनलाई रोक नलगाइएको उनले बताए । आइतबार अपराह्नदेखि फेरि भारी वर्षाको क्रम शुरु भएपछि हेभी गाडीलाई कोशी व्यारेजमा रोक लगाइएको थेवेले बताए ।
अहिले सुनसरीसहित कोशी प्रदेशका विभिन्न पहाडी जिल्लामा वर्षाको क्रम जारी छ । त्यसैले उच्च सतर्कता अपनाइएको एसपी थेवे बताउँछन् । कोशी व्यारेजका सबै ढोका खुला गरिएपछि भारतको सुपौलको पूरै र अररिया जिल्लाका केही भागमा बाढी पसेको छ ।
बाढीबाट भीमनगर, वीरपुर, बसमतियासहितका बस्ती उच्च जोखिममा छन् । त्यहाँका बासिन्दा सुरक्षित स्थलतर्फ लागिरहेको वीरपुरका बासिन्दा रक्की सिंहले बताए ।
कोशी व्यारेको निरीक्षण गर्न अहिले प्रदेश सरकारका मन्त्री रेवती भण्डारीसहितको टोली त्यहाँ पुगेको छ ।