‘हरिबहादुरको जुत्ता’

वि.सं.२०८२ असोज २२ बुधवार ०९:१२
shares

धेरै नेपाली दर्शकको नोस्टालजियामा बसेको टेलिश्रंखला हो, ‘मदनबहादुर हरिबहादुर’ । व्यङ्ग्यात्मक अभिव्यक्तिमार्फत सामाजिक कुरीति, कुसंस्कार र अन्धविश्वासविरुद्ध सचेतना फैलाउने प्रयासमा यो टेलिश्रंखला निर्माण गरिएको थियो ।
मदनबहादुरको दाहिने गालाको शीर र दाहिने आँखा छेवैमा भएको ठूलो मासुको डल्लो र हरिबहादुरको नाकको डाँडीको कालो कोठी उनीहरूको पहिचान नै बनेको थियो । मदनबहादुर कमेडीको लागि पृष्ठभूमि तयार गरिदिन्थे, हरिबहादुर ‘पन्च लाइन’ हान्थे ।
अहिले दशकौँअघिको त्यो टेलिश्रंखलाको हरिबहादुर पात्र ठूलो पर्दामा अवतरण भएको छ, ‘हरिबहादुरको जुत्ता’ मार्फत । नाकको डाँडीको कालो कोठी, टोपी, अनुहारको हाउभाउ र लवजलाई जस्ताको तस्तै चलचित्रमा उतारिएको छ ।
चलचित्रमा हरिबहादुर (हरिवंश आचार्य) लाई फरक खालको ‘चोर’को रूपमा प्रस्तुत गरिएको छ । यो ‘चोर’ पात्र आफैँमा देश लुट्ने, निमुखा जनताको गाँस लुट्नेहरू विरुद्धको व्यङ्ग्यात्मक सम्बोधन हो । हरिबहादुरले चोरी गरेरै घर चलाएको छ । चोरीको केसमै बारम्बार हिरासतमा पुगिरहन्छ । हिरासत कक्षमा ऊ यति लोकप्रिय छ कि मानौँ, त्यही नै उसका लागि आधा–घर हो ।
बदनामीको हद पार गरेर पनि ऊ गाउँमै बसिरहेको छ । तर, उसकी श्रीमतीलाई भने यो बदनामीको घाउ धेरै लामो समयदेखि चहराइरहेको थियो । त्यसैले उनले गाउँ नै छाडेर कतै अन्जान ठाउँमा जाने निर्णय गर्छिन् । अनि हरिबहादुरको परिवारले गाउँ छाड्छ ।
एक चोर नै साथीमार्फत हरिबहादुरको परिवार नेता तेजविक्रम (हरिहर शर्मा) को घरमा नोकर हुन पुग्छन् । यसपछि कथाले पिकअप लिन्छ । कथामा ट्वीस्टहरु आउँछन् । नेताको आवरणमा तेजविक्रमले गर्ने बदमासी र भ्रष्टाचार, उसकी श्रीमतीले गर्ने बालश्रम शोषणका पाटोहरूलाई देखाइएको छ । सुरुवातमा चलचित्र हास्य प्रधान लाग्दै गए पनि बिस्तारै चलचित्र गम्भीर सामाजिक, राजनीतिक मुद्दाहरूमा प्रवेश गर्छ ।
नेताहरूले गर्ने रजगजका कारण जनताले भोग्नुपर्ने सास्तीहरूलाई मिहिन ढंगले देखाइएको छ । आमजनताको आँसु र पसिनामाथि नेताहरूले कसरी मोजमस्ती गर्छन् भन्ने देखाइएको छ । अनि राजनीतिमा पुस्तान्तरणको मुद्दालाई पनि बडो टड्कारोरुपमा उठाइएको छ । आफ्नै घरमा बालश्रम शोषण गरिएकी भगवती खड्का (स्वस्तिमा खड्का) लाई तेजविक्रमको विरुद्धमा उठाएर राजनीतिक सन्देश दिन खोजिएको छ ।
पटकथामा केही कमीकमजोरीहरू छन् । चलचित्रमा एक दृश्य छ, जहाँ नकुल (प्रकाश सपूत) लाई पढ्न पैसा चाहिन्छ । नकुललाई नेताकी श्रीमतीको साथमा लगाएर पढ्नलाई सहर पठाएको दश वर्षपछिको प्रसंग हो यो । कहाँबाट ल्याउने त हरिबहादुरले लाखौँ पैसा ? यसका लागि ऊ कामहरू खोज्न थाल्छ । तर, कसैले काम दिँदैनन्/पत्याउँदैनन् । एक सहकारीमा ऋण माग्न जान्छन् । धितो केही नभएपछि उसलाई सहकारीले ऋण पत्याउँदैन ।
अनि अन्तिम विकल्पको रूपमा ऊ चोरीकै काममा लाग्छ । निकै अगाडि नै थन्काएको चोरी गर्न सहयोग गर्ने जुत्ता लगाउँछ । र चोरीका लागि निस्कन्छ । तर, प्रश्न यहाँ यो उब्जिन्छ कि बितेको दश वर्षसम्म चाहिँ हरिबहादुर के गरेर बसेको थियो ? जब छोरालाई पैसा चाहियो, अनि काम खोज्न थाल्छ । दश वर्षअघिबाटै चाहिँ काम किन खोजेन ? वा गरेन ? ऊ त सुध्रिसकेको थियो ! यो सवालको जवाफ प्रष्टसँग दिइएको भए चलचित्र अझै कन्भिन्सिङ हुन्थ्यो ।
त्यस्तै हरिबहादुर सहकारीमा चोरी गरेको केसमा पक्राउ पर्छ, त्यो पनि प्रमाण सहित । चोरी तथा लुटपाटको गम्भीर केसमा पक्राउ परेका हरिबहादुर सजिलै छुट्छ । कसरी ? के कारण त्यति सजिलै छुट्छ त ? यसको जवाफ पनि दिइनुपर्थ्यो ।
एउटै ओछ्यानमा तीनजना महिलासँगको दृश्य छ हरिबहादुरको । दर्शकलाई हँसाउने उद्देश्यले खिचिएको यस्ता दृश्यको विकल्पमा अरू सृजनशील दृश्यहरू राख्न सकिन्थ्यो । यो दृश्य निकै नै भद्दा देखिन्छ । महिलालाई वस्तुकरण गरिएको यस्ता दृश्यको ठाउँमा वैकल्पिक दृश्यहरू प्रयोग गरेको भए अझै गज्जब हुने थियो । साथै एक जोर कालो जुत्ता छ, जुन जुत्ता लगाउन साथ हरिबहादुरलाई चोरी गर्न मन लाग्छ । किन त ? यसको गतिलो जवाफ दिइएको छैन ।
मूलभूत रूपमा चलचित्रले चोर पात्र हरिबहादुरको आवरणमा मानवीय संवेगहरूलाई केलाउन खोजेको छ । बाहिरी आवरणमा हरिबहादुर चोर पात्र हुन्, भित्री आवरणमा ऊ एक संवेदनशील मानिस हो । छोराको खुसीका खातिर उसले लड्ने हर एक लडाइँले दर्शकको संवेदनमा च्वास्स छोएर जान्छ । त्यसबेला दर्शकलाई झनै छुन्छ, जब थाहा हुन्छ कि नकुल हरिबहादुरको आफ्नै रगत होइन । तर, हरिबहादुर नकुलका लागि जे पनि गर्न तयार छ । नकुल पनि पिताको लागि हरतरहको कोसिस गर्न तयार छ । यी बाउ–छोराको सम्बन्ध र आत्मीयताले दर्शकलाई करप्पै बाँध्छ ।
सुरुवातमा ठेट हँसीमजाकहरुबाट सुरु भएको हरिबहादुर पात्रले चलचित्र सकिँदासम्म दर्शकको एक अंगालो माया बटुलिसकेको हुन्छ । प्रकाश सपूतले नकुलको भूमिका गज्जबले निर्वाह गरेका छन् । सपूतको अभिनय सन्तुलित छ । अस्पतालको शैयामा गोली लागेर ढलिरहँदा सपूतको आँसु मिसिएको अनुहार हेर्नलायक छ ।
भगवतीको भूमिकामा स्वस्तिमाले अभिनय ठिकठाक अभिनय गरेकी छन् । उनको पात्र राजनीतिक परिवर्तनको संवाहक भएकाले अझै दह्रिलो संवादहरू राखिदिनुपर्थ्यो । गीत गाएर झाँकी प्रदर्शन गर्नमा मात्रै सीमित पारिएको छ । नयाँ पुस्ता विचारले, बुझाइले र चेतनाले धेरै अब्बल छ भनिँदै आएकाले त्यसको प्रतिबिम्ब भगवतीको पात्रमा हुनुपर्थ्यो ।
दिव्यदेव, सीता न्यौपाने, जेभिन-जेभिस श्रेष्ठको अभिनय ठिकठाक छ । जति भूमिका दिइएको छ, त्यसलाई राम्रैसँग निर्वाह गरेका छन् । ब्याकग्राउण्ड स्कोरमा घरीघरी ‘मदनबहादुर हरिबहादुर’ कै ह्याङ भेटिन्छ, यसलाई अझै सुधार गरेको भए हुने । सिनेम्याटोग्राफी ठिकठाक छ । व्यवसायिक नेपाली चलचित्रलाई जसरी चलाइन्छ, त्यसरी नै क्यामेरा चलाइएको छ । नयाँ, नौलो र नवीन प्रयोग छैन ।
पटकथामा अलि मिहेनत पुगेको देखिँदैन । पटकथालाई अझै कसेको भए चलचित्र निकै नै अब्बल हुने थियो । तर, मानवीय संवेगहरूलाई सूक्ष्म तवरले भन्ने पाटोमा भने निर्देशक खनालले आफ्नो निर्देशकीय क्षमता देखाएका छन् । ‘आमा’, ‘पशुपतिप्रसाद’ जस्ता चलचित्रमा पनि यसको सफल प्रयोग उनले गरिसकेका हुन् ।
मुख्यतया हरिबहादुर नामक पात्रको चोरदेखि संवेदनासहितको मान्छेसम्मको यात्रा नै ‘हरिबहादुरको जुत्ता’ हो । ‘मदनबहादुर हरिबहादुर’ टेलिश्रंखलाको नोस्टालजियासँग बाँचेका दर्शकका लागि ‘हरिबहादुरको जुत्ता’ गज्जबको खुराक हुनसक्छ ।