भानुभक्त भन्छन्, ‘एमालेलाई एकता चाहिएको छ, पुनर्गठनको बहस असान्दर्भिक’

वि.सं.२०८२ असोज २३ बिहीवार १५:३०
shares

भक्तपुर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वयका प्रमुख भानुभक्त ढकालले पार्टीलाई चौतर्फी आक्रमण भइरहेका बेला पार्टीभित्र पुनर्गठनको बहस उठाउनु असान्दर्भिक भएको बताएका छन् ।
पार्टीको भक्तपुर जिल्ला कमिटीले गुण्डुमा आयोजना गरेको कार्यक्रममा ढकालले एमालेमा नेतृत्वको गठन र पुनर्गठन भइरहने भएकोले यसको पनि उचित फोरमबाट निर्क्यौल हुने जिकिर गरे ।
‘एमालेमा नेतृत्वको गठन र पुनर्गठन स्वाभाविक हो । यो हुन्छ नै तर अहिले बैरीले आक्रमण गरेका बेला एकता चाहिन्छ । यस्तो विषय पार्टीको महाधिवेशन वा केन्द्रीय कमिटीले किनारा लगाउन सक्छ । तर, अहिले पार्टीभित्र एकताको खाँचो छ’, ढकालले भने ।
पार्टी पुनर्गठनका नाममा अनेक प्रकारका प्रचारबाजी गर्नु उपयुक्त नभएको उनको भनाइ थियो । भदौ २०-२२ को दोस्रो विधान महाधिवेशनले तय गरेको बाटोमा जेन-जी आन्दोलनले उठाएका सही एजेण्डालाई पार्टीले समेट्ने ढकालले बताए ।